८४ सालभन्दा अघि नै नेपालमा राजसंस्था स्थापना हुन्छ : अध्यक्ष थापा

  • ११४
  • शनिबार, २३ मंसिर २०८०

 

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राप्रपा नेपाल का अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था स्थपना हुने दावी गरेका छन् ।

रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र निरंकुश नभई सर्वधर्म, समभावसहित माओवादीदेखि सनातनी हुने बताए ।

उनले नेपालमा राजसंस्था स्थापना भएमा विश्वको भू–राजनीतिमा नेपालको स्वतन्त्र अस्तित्व रहने, अहिलेको लूटतन्त्र, सर्वसत्तावादी र छाडातन्त्र अन्त्य हुने र अब स्थापना हुने राजसंस्था जनाताले चुनेको संसदअन्तर्गत रहने हुनाले राष्ट्रको अभिभावकको रूपमा रहेर राष्ट्र प्रमुखको विवाद सदाका लागि समाप्त हुने स्पष्ट पारे ।

राप्रपा नेपालले मान्ने राजसंस्था नेपाली कांग्रेसका नेता स्व। विश्वेश्वरप्रसाद कोइरालाले राजा र नेपाली जनताको घाँटी एकै ठाउँमा जोडिएको छ भनेजस्तै हो भन्ने अध्यक्ष थापाको भनाइ थियो । उनले ०६३ को राजनीतिक परिवर्तन असल मनसायले भएको भएतापनि अहिले आएर संघीय गणतान्त्रिक व्यवस्था व्यवहारमा असफल भइसकेको परिप्रेक्ष्यमा नेपालमा राजसंस्था पुनः स्थापनाको विकल्प नभएकामा जोड दिए ।

थापाले भने, “संघीय लोकतान्त्रिक व्यवस्था एक भ्रष्ट व्यवस्थाको रूपमा रूपान्तरित भइकेको छ । शदीयौंदेखिको दासताको अन्त्य गर्ने भनिएतापनि त्यसको ठीक विपरीत सीमित राजनेता र राजनीतिक दलको सिन्डिकेट, सर्वसत्तावादी ढंगले देश चलाइरहेको छ ।”

उनले देशमा आर्थिक सम्बृद्धि हासिल गर्ने भनेतापनि देशको अर्थतन्त्र धराशायीको अवस्थामा पुगेको चर्चा गर्दै अध्यक्ष थापाले भने, “अर्थतन्त्र संकटग्रस्त छ । युवाशक्ति रोजगारीका लागि विदेश पलायन भइराखेको छ । राजनीतिक दलका नेताहरूप्रतिको नेपाली जनताको भरोसा टुटेर समाजमा उकुसमुकुस परिस्थिति देखापरेको छ ।”

अध्यक्ष थापाले सबै गणतन्त्रवादी राजनीतिक दलहरूलाई अपिल गर्दै भने, “यदि सहमति र सहकार्यबाट शान्तिपूर्ण ढंगले धर्मनिरपेक्षता, प्रदेश खारेज र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था नगरिएमा मुलुकमा नयाँ तानाशाह जन्मिने निश्चित छ र केही समयपछि राष्ट्र विखण्डनमा जाने खतरा देखिएको छ ।”

उनले अगाडि भने, “मुलुक भ्रष्टाचारले आक्रान्त भइरहेको र भ्रष्टाचारका जतिपनि काण्डहरू छन्, चाहे त्यो एनसेल कर छली, होस् वा नक्कली भुटानी शरणार्थी, ललितानिवास, सुनकाण्डलगायतमा राज्य र सरकार तथा नेताहरूका परिवार नै संलग्न रहेको छ ।” अध्यक्ष थापाले धर्मनिरपेक्षताको आडमा सनातन धर्मावलम्वीमाथि आक्रमण भइराखेको र उनीहरूको धर्म, संस्कृतिलाई अपमानित गर्ने कार्य भइराखेकोमा निन्दासमेत गरे । उनले सनातनीमाथि भएको बढ्दो आक्रमणले गर्दा भविष्यमा धार्मिक द्वन्द्व हुने खतरा देखिएको कुरा औल्याए ।

थापाले राष्ट्रमा राजसंस्था, हिन्दुराज्य स्थापना गर्ने आन्दोलनप्रति आफू र आफ्नो पार्टीको स्वाभाविक नैतिक समर्थन रहने उल्लेख गर्दै दुर्गा प्रसार्इंको आन्दोलनमा स्वतः समर्थन रहेको प्रस्ट पारे । उनले राप्रपाले हालै राजसंस्था स्थापना गर्ने आन्दोलनमा सहकार्य गर्ने भनी गरिएको निर्णयको स्वागत गर्दै तत्काल राप्रपासँग पार्टी एकीकरण हुने सम्भावना नरहेको स्पष्ट पार्दै भने, राप्रपा नेपाल र राप्रपाबीच धेरै ठूलो मतभेद रहेको त्यो मतभेदको निराकरण नभएसम्म पार्टी एकता हुँदैन । राप्रपा अहिले सत्ता केन्द्रित रहेको छ ।”

अध्यक्ष थापाले एक प्रसंगमा भने, "माओवादी, एमाले र कांग्रेस पार्टीका नेताहरूसँग निजीरूपमा कुराकानी हुँदा उहाँहरू नेपाललाई हिन्द् राष्ट्र बनाउन पर्छ भन्ने कुरामा सहमत भएको पाएको छुँ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com