क्रिश्चियन धर्म प्रवर्द्धन गर्ने :प्रधानमन्त्री ओली

  • २९०
  • बुधबार, १५ जेठ २०७६

काठमाडौैं । क्रिश्चियन धर्म फैलाउन खोलिएको दक्षिण कोरियाको काङनाम विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिले विभूषित गरेको छ ।

प्रधानमन्त्रीलाई बुधबार नेपाली सेनाको सानो भर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थानको हलमा विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो । प्रधानमन्त्री ओलीलाई विद्यावारिधि प्रदान गर्ने विश्वविद्यालयले मूल मन्त्रको रूपमा सत्य, स्वतन्त्रता, समानता र कल्याण तथा क्षमतायुक्त व्यक्तिलाई महत्व दिने जसले स्वर्गको पूजा र मानवजातिको सरंक्षण र क्रिस्चियानिटी (इसाइकरण) को भावना र मानवीय हिसाबले समाज र समग्र मानवजातिको लागि काम गर्ने आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

प्रधानमन्त्रीले विवादास्पद विद्यावारिधि ग्रहण गरेको यो पहिलोपटक होइन । उनलाई २०६७ असोज ११ गते अमेरिकामा रहेको भनिएको ग्रिनफोर्ड युनिभर्सिटीले काठमाडौंमा विशेष दीक्षान्त समारोह आयोजना गरेको थियो । र, मानार्थ विद्यावारिधिको उपाधिद्वारा विभूषित गरेको थियो ।

तर, केही समयपछि उक्त विश्वविद्यालय ‘फेक’ ठहरियो । विश्वविद्यालय कम्पनी लिमिटेडका रूपमा दर्ता भएको भन्ने खबर बाहिर आएपछि त्यही विश्वविद्यालयबाट विद्यावारिधि पाएका मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र कान्तिपुरका तत्कालीन निर्देशक रामेश्वर थापाले उपाधि फिर्ता गरे पनि ‘मैले कागजपत्र पढेर, बुझेरै मानार्थ विद्यावारिधि लिएको हुँ । यसलाई फिर्ता गर्दिनँ’ भन्दै उनले ‘विद्यावारिधि’को प्रतिरक्षा गरेका थिए । उनले उपाधि लिएको उक्त युनिभर्सिटीको वेबसाइटसमेत अहिले बन्द छ ।

त्यस्तै गत चैत २५ गते राजकीय भ्रमणका लागि भारत गएका प्रधानमन्त्री ओलीलाई त्यहाँको उत्तराखण्डको एक विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गर्‍यो । उत्तराखण्ड राज्यको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले उनलाई ‘अनररी डक्टर अफ साइन्स’ (मानार्थ विद्यावारिधि) द्वारा विभूषित गरेको थियो ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतको राजकीय भ्रमणमा गएको भन्दै यसै उनको आलोचना भइरहेको थियो । ‘सम्बन्धित विषयमा साइनो-सम्बन्धै नभएका’ ले विद्यावारिधि पाएको भन्दै सामाजिक सञ्जाल गर्माउने विषय बन्यो ।

विद्यावारिधिको उपाधि ग्रहण गरेको प्रति नयाँ शक्ति पार्टी, नेपालका संयोजक रहेका डा। बाबुराम भट्टराईले व्यंग्य नै गर्न भ्याए– ‘‘डा। ( विद्यावारिधि) क्लब’ मा प्रम डा। ओलीलाई हार्दिक स्वागत तथा बधाई १”

गत असोज दोस्रो साता भ्रमणका लागि कोस्टारिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ पनि मानार्थ विद्यावारिधि उपाधि ग्रहण गरे । कोस्टारिकाको सान जोसमा रहेको शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) ले उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्‍यो । त्यसबखत नेपालले युनिभर्सिटी फर पिसको स्थापनासम्बन्धी अन्तरराष्ट्रिय सन्धीमा हस्ताक्षर समेत गरेको थियो ।

त्यसरी विश्वविद्यालय चार्टर अङ्गिकार गर्ने नेपाल ४१ औँ मुलुक थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.