भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले सात बर्षसम्म सबै वैठक सर्वसम्मत भएको दाबी गरेका छन् । नगरपालिकाले वजेट तथा नीति कार्यक्रम बारे जानकारी दिन शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले सो कुरा बताएका हुन् । २०७३ सालमा नगरपालिकाको स्थापना भएदेखि ७ वर्षको समयमा सबै वैठकहरु सर्वसम्मत भएको प्रमुख थापाले बताए ।
नगरपालिका स्थापना भएदेखि १६ वटा अधिवेशन र १७० वटा वैठक भएको र ती सबै सर्वसम्मतिमन सम्पन्न भएको नगरप्रमुख थापाले जानकारी दिए । फरक विचारधाराका पार्टीबाट निर्वाचित भएर आए पनि नगरपालिकामा आएपछि पार्टीका कार्यकर्ता नभइ जनप्रतिनिधिका रूपमा काम गर्दै आएको नगर प्रमुख थापाले बताए ।
दबकगमभख तजबउब।वउन
पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले चालू आर्थिक वर्षको बजेट संशोधन गरेर घटाइएको जानकारी दिए । नगरपालिकाले चालू आर्थिक वर्षका लागि २ अर्ब ७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । उक्त बजेटलाई संशोधन गरि २ अर्ब २१ लाख रुपैयाँ बनाइएको सापकोटाले जानकारी दिए ।
प्रबक्ता सापकोटाका अनुसार, चालु आर्थिक वर्षमा नगरपालिकाले संघ र प्रदेशको अनुदानसहित कुल २ अर्ब १५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षमा खर्च भने आम्दानीको ६०।३ प्रतिशत अर्थात् १ अर्ब २९ करोड रुपैयाँ मात्र भएको उनले बताए ।
सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि संघीय सरकारको विभिन्न शिर्षकबाट अनुदानबापत प्राप्त हुने ७२ करोड ३१ लाख रुपैयाँ, प्रदेश सरकारको ४८ करोड ७ लाख रुपैयाँ र नगरपालिकाको आन्तरिक आम्दानी १ अर्ब ३ करोड ६० लाख रुपैयाँसहित कुल २ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएको छ । उक्त बजेटमध्ये आर्थिक विकासका लागि ११ करोड ८९ लाख रुपैयाँ र सामाजिक विकासका लागि ८३ करोड ८४ लाख रुपैयाँ खर्च गरिने उनले जानकारी दिए । त्यस्तै, पूर्वाधार विकासतर्फ ८७ करोड १६ लाख रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ११ करोड ५ लाख रुपैयाँ र वन वातावरण तथा विपद र कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फ ३० करोड ४ लाख रुपैयाँ विनियोजन गरिएको सूर्यविनायकका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए ।