काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले काठमाडौं उपत्यका डेंगुको उच्च जोखिममा रहेको जनाएको समाचार आजको गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, डब्लूएचओ विशेषज्ञहरुको टोलीले नमुना संकलन गरी गरेको अध्ययनपछि यो जानकारी आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डब्लूएचओ टोलीलाई आमन्त्रण गरी अध्ययन गरेको थियो ।
रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले डब्लूएचओ टोलीको अध्ययनले उपत्यकामा डेंगु फैलनसक्ने निष्कर्ष निकालेको भन्दै सचेतना अपनाउन सुझाव दिएको बताए ।