काठमाडौं । आँखा कमजोर भएकाका लागि मोटो चस्माको विकल्पका रूपमा रहेको कन्ट्याक्ट लेन्स अहिले फेसनकै रूपमा लगाउन थालिएको समाचार आजको गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, आँखाको शल्यक्रिया गर्न नचाहनेहरु अहिले चस्माको सट्टा कन्ट्याक्ट लेन्सतर्फ आकर्षित भएको पाइएको छ ।
आफ्नो आँखा कमजोर भएको अरुलाई थाहा नहोस् भनेर मानिसहरुले कन्ट्याक्ट लेन्स प्रयोग गर्न थालेका हुन् । आँखाको पावर माइनस ३ देखि माइनस ४ हुन्छ, त्यस्तो समस्यालाई लासिक भनिन्छ ।
यो समस्या भएका व्यक्तिहरुले हाई पावर भएको मोटो चस्मा लगाउनुपर्छ । यस्तो समस्या भएका मानिस प्रायःजसो आँखाको शल्यक्रिया गराउने गर्छन् ।
जो मानिस शल्यक्रिया गर्न डराउँछन्, उनीहरुले चस्मा र कन्ट्याक्ट लेन्स प्रयोग गर्ने गरेको चिकित्सकको भनाइ छ ।