काठमाडौँ । कतारको राजधानी दोहामा मंगलबार नेपाली नागरिकहरुमाथि आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
दोहामा रहेको जैदा पार्कमा ६ जना नेपालीमाथि भएको आक्रमणमा परि मृत्यु हुनेमा सुनसरी घर भएका तबरेज अन्सारी रहेको नेपाली राजदूतावासले जनाएको छ ।
अन्य घाइतेहरु पनि सुनसरीकै रहेको जनाइएको छ । उनीहरुको सबै विवरण परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई उपलब्ध गराइने दूतावासले जनाएको छ ।
मृतक अन्सारीको शव घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि हमाद अस्पतालको शव गृहमा रहेको छ । त्यस्तै आक्रमणमा परि गम्भीर घाइते भएका उमर अन्सारीको हमाद अस्पतालकै आईसीयूमै उपचार भैरहेको र इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अवस्थामा उपचाररत र रहेको दूतावासले जनाएको छ ।
त्यस्तै घटनामा घाइते भएका अकबर मिया र महसुद अन्सारी प्रहरीको नियन्त्रणमा रहेका र नेपाली राजदूतावासको टोलीको पहलमा रिहा भएको राजदुतावासले जनाएको छ ।
नेपाली नागरिकमाथि किन र कसले आक्रमण गर्यो भन्नेबारे विज्ञप्तीमा केही खुलाइएको छैन् ।