बाजुरा | जिल्लाका अधिकांश ठाउँमा महीनावारी र सुत्केरी महिलालाई दही-दूध नदिने चलन अझै कायमै रहेको छ। सामान्य अवस्थाभन्दा महीनावारी र सुत्केरी भएका बेला महिलालाई बढी पोषिलो खाद्यवस्तुको आवश्यकता पर्छ।
बडिमालिका नगपालिका-७ सिराडीकी कल्पना विक भन्छिन्, बाजुराका ग्रामीण भेगमा भने दूध-दही लगायतका गोरसजन्य वस्तु केही दिँदैनन्, सुत्केरी र महिनावरी भएका महिलाले परम्परागत रुपमा न त गाईवस्तुलाई छुन मिल्छ न त गोरस प्रयोग गर्न मिल्छ ।
सोही वडाकी मासमती विकले महीनावारी भएका बेला गाईवस्तुलाई छोएमा सुक्दै जाने, बिरामी हुने र देवीदेउता रिसाउने हुँदा गाईवस्तुलाई छुने हिम्मत नै नगरेको पीडा सुनाइन्। जिल्लाका केही स्थानीय तहमा फाट्टफुट्ट गोरसको प्रयोग गरे तापनि अधिकांश स्थानीय तहका ग्रामीण भेगका सुत्केरी र महीनावारी भएका महिलालाई दूध, दही अझै नदिने गरेको बडिमालिका नगरपालिका-९ का गोपाल विकले बताए।
गौमुल गाउँपालिका-६ टुनीकी रचना विकले भनिन्, यो परम्परागत अन्धविश्वासका विरुद्ध गाउँ-गाउँमा अभियान सञ्चालन गर्नुपर्छ। जिल्ला अस्पतालका डा. रोहित गिरीले भने महीनावारी र सुत्केरी भएका बेला रगत बढी बग्ने र शरीरमा कमजोरीको महसुस हुने भएकाले यो अवस्थामा दूध, दही, हरियो सागपात, माछामासुलगायत साविकको भन्दा पोषिलो खानेकुरा बढी प्रयोग गर्नुपर्ने बताए।