नेपाली उत्पादनहरुको नेपालमा गरिएको गुणस्तर परीक्षण भारतमा मान्य

  • १५९
  • आइतबार, ८ भाद्र २०७६

काठमाडौं | नेपाली उत्पादनहरुको नेपालमा गरिएको गुणस्तर परीक्षण भारतमा मान्य हुने भएको छ । भारत सरकारको फुड सेफ्टी एन्ड स्ट्यान्डर्ड अथोरिटी अफ इन्डियाले नेपालको नेसनल फुड एन्ड फिड ल्याब्रोरेटरी, काठमाडौंले गरेको परीक्षणलाई मान्यता दिने व्यवस्था गरेको हो ।

व्यवस्थाअनुसार भारततर्फ निकासी भइरहेका वस्तुमध्ये २४ खाद्य पदार्थ तथा फलफूल र तरकारीले भारतीय बजारमा सहज सरल र सुविधायुक्त प्रवेश पाउनेछन् । भारत सरकारको फुड सेफ्टी एन्ड स्ट्यान्डर्ड रेगुलेसन २०११ अनुसार परीक्षण गरिएका उत्पादन भारतका लागि मान्य हुने भएको हो ।

यसबारे नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुवै देशले मान्यता दिने सहमति गरेका छन् । काठमाडौंमा हालै सम्पन्न नेपाल-भारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणबीच एक अर्को देशको प्रयोगशालामा जाँच गरेका खाद्यान्न, फलफूल र तरकारीलाई अर्को देशमा मान्यता पाउने सहमति गरेका हुन् ।

यससँगै नेपाली गुणस्तर परीक्षणलाई मान्य गरिएका नेपाली उत्पादनमा जुस, जाम, जेली, अचार, क्यान्डी, इन्स्ट्यान्ट नुडल्स, बिस्कुट, बालबच्चालाई खुवाउने दूध, स्कीम्डहोल मिल्क पाउडर, कन्डेन्स्ड मिल्क, आइसक्रिम, गुलियो दही, मासु तथा मासुजन्य पदार्थ, अदुवा, अलैंची, बेसार, चिया, कफि, मह, ताजा फलफूल र तरकारी रहेका छन् ।

यसका लागि नेपालको नेसनल फुड एन्ड फिड ल्याब्रोरेटरीज, काठमाडौंले एनएबीएलले तोकेको मापदण्ड अनुसार एक्रिडिटिसन एक वर्षभित्रमा लिनुपर्ने र मापदण्ड सेफ्टी स्ट्यान्डर्ड रेगुलेसन २०११ अन्तर्गत रहनुपर्ने उल्लेख छ । यो व्यवस्थाबाट गैर भन्सार अवरोध लगायत प्रक्रियागत झन्झट कम हुन गई व्यापार घाटा कम गर्न पनि योगदान पुर्याउने विश्वास गरिएको छ ।

यसको अर्थ नेपाली प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता दिन भारत सहमत भएको हो । यसअघि नेपालको गुणस्तर प्रमाणपत्र भारतका लागि मान्य थिएन । जसका कारण अदुवा, अलैंचीलगायत कृषिजन्य वस्तु निर्यातमा पटक-पटक अवरोध हुने गरेको थियो ।

यसअघि नेपालमा उत्पादित खाद्य वस्तु भारतका प्रयोगशालामा परीक्षण गरेको प्रमाणपत्र पेश गरेपछि मात्र निर्यात गर्न अनुमति पाइने गरेको थियो । जसका लागि नेपाली वस्तुको परीक्षण गर्न भारतसम्म पुग्नुपथ्र्यो । अब नेपालमै गरिएको परीक्षणलाई भारतले मान्यता दिने भएको हो ।

यो व्यवस्थासँगै नेपाली व्यवसायीले लामो समयदेखि उठाउँदै आएको माग पनि पूरा भएको छ । नेपालको ६५ प्रतिशत व्यापार भारतसँग हुने र नेपाली कृषिजन्य वस्तुको सहज पहुँच नभएको अवस्थामा नेपाली प्रयोगशालाले गरेको परीक्षणलाई मान्यता दिनुपर्ने माग गरिएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यससम्बन्धी व्यवस्थालाई औपचारिकता दिएपछि निजी क्षेत्र पनि हौसिएका छन् । नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले विज्ञप्ति जारी गरेर यो व्यवस्था अत्यन्त समय सान्दर्भिक, उचित एवम् स्वागतयोग्य कदमको रुपमा लिएको बताएका छन् । यसबाट नेपालको निकासी प्रोत्साहन हुने अपेक्षा गरिएको छ ।

उनीहरुले नेपालको भारतसँगको बढ्दो व्यापार घाटा केही कम गर्न यस्ता वस्तुको नेपालको गुणस्तरलाई मान्यता दिइनु पर्ने माग गर्दै आएका थिए । यसका साथै प्रत्येक भन्सार बिन्दुमा आधुनिक क्वारेन्टाइन चेकपोस्ट र खाद्य परीक्षण प्रयोगशाला स्थापनामा समेत जोड दिई सो सुदृढ, व्यवस्थित र सरल हुने आशा उनीहरुले लिएका छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.