चितवन । नेपाल जेसिजले ४६औं राष्ट्रिय महाधिवेशनका अवसरमा विभिन्न क्षेत्रका ८ युवालाई राष्ट्रिय सम्मान गरेको छ । चितवनको रत्ननगरमा सुरु महाधिवेशनका अवसरमा देशभरबाट सिफारिस भई आएकामध्ये उत्कृष्ट जेसिजका युवालाई सम्मान गरेको हो ।
साहित्य र पत्रकारिताको क्षेत्रमा योगदान गरेबापत मीनकुमार नवोदितलाई जेसिजले सम्मान गरेको हो । उनी दुई दशकदेखि साहित्य र पत्रकारितामा सक्रिय छन् । यस्तै जेसिजले कला संगीततर्फ विल्सनविक्रम राई (तक्मेबूढो) विज्ञान प्रविधिबाट काठमाडौंका विकल्प ढुंगाना, खेलकुद तर्फबाट राष्ट्रिय भलिबल टिमकी कप्तान म्याग्दीकी अरुणा शाही, मानवअधिकारका क्षेत्रमा भैरहवाकी विपना शर्मा र स्वास्थ्य क्षेत्रबाट चितवनमा विशाल श्रेष्ठलाई सम्मान गरियो ।
जेसिजले काठमाडौंकी सिर्जना तिम्सिनालाई देशको प्रतिष्ठा बढाउन उच्च भूमिका खेलेको भन्दै राष्ट्रिय सम्मान प्रदान गरेको छ । उनीहरूलाई स्वर्णपदकसहित नगद र सम्मानपत्र प्रदान गरियो ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले सम्मान गरेका थिए । कार्यक्रममा दाहालले युवाको क्षमता विकासमा जेसिजले महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्र निमार्णमा युवालाई समाहित गराउन आग्रह गरे ।
उनले आर्थिक समृद्धि र विकासमा युवाको भूमिका महत्वपूर्ण रहनेमा जोड दिए । जेसिजले हरेक वर्ष राष्ट्रिय महाधिवेशनका अवसरमा विभिन्न क्षेत्रका ४० वर्षमुनिका युवालाई सम्मान गर्दै आएको छ । शनिबारसम्म चल्ने महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पनि चयन गर्नेछ । जेसिजका देशभर १ सय ५५ शाखा छन् । जेसिजमा करिब २० हजार युवा आबद्ध छन् ।