दैलेख । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले दैलेख पश्चिम क्षेत्रमा रहेका विभिन्न स्थानीय तहमा रहेका ९३ छाउगोठ भत्काएका छन् ।
समस्याका रुपमा रहेको छाउप्रथालाई निरुत्साहित गर्न छाउगोठ भत्काउन थालिएको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार सरकारको अभियान अन्तर्गत आठबीस नगरपालिकाको राकम बजार, ठाटीकाँध गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका विभिन्न स्थानमा ९३ भन्दा बढी छाउगोठ भत्काइए हो ।
प्रहरी निरीक्षक उपेन्द्र आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीसहितको संयुक्त टोलीले विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सोमबारबाट गोठ भत्काउने अभियान थालेको थियो । आठबीस २०, चामुण्डाबिन्द्रासैनीमा ४६ र अन्य विभिन्न स्थानीय तहमा २७ छाउगोठ भत्काइएको क्षेत्रीले जानकारी दिए ।