आज भूकम्प सुरक्षा दिवस मनाईँदै

  • ६५
  • बिहीवार, २ माघ २०७६

काठमाडौं । वि.सं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा बिहीबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।

‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेको थियो ।

दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो, आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए, नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।

सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

दिवसका अवसरमा मूल समारोह समितिले बिहीबार भक्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । मूल समारोहको कार्यक्रमअघि भक्तपुरमा जनचेतनामूलक पदयात्रा हुने प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए ।

दिवसका अवसरमा गत पुस १५ देखि माघ १५ गतेसम्म नै विभिन्न कार्यक्रम आयोजना गरी चेतना जगाइएको छ । दिवस मनाउन सात प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । टोलस्तरसम्म जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहलाई पनि प्रशासनले नै समन्वय गर्ने जनाइएको छ । यस अवसरमा काठमाडौँ र ललिपुर महानगरपालिकाले पनि आज विशेष कार्यक्रम गर्ने विभागले जनाएको छ ।

२२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सन्देश दिँदै भूकम्पको जोखिममा रहेको नेपालजस्तो भूभागमा प्राकृतिक विपदले हुन सक्ने जनधनको क्षतिबाट जोगिन भूकम्प सुरक्षा दिवसले नेपाली सबैलाई त्यसको सामना गर्दै बच्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.