काठमाडौं । पोलिमर नोट छपाइसम्बन्धी मुद्दाका आरोपित नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा तिलक रावलसहित तीनैजनालाई सफाइ पाएका छन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश शिवराज अधिकारी र सदस्यहरु न्यायाधीश बालेन्द्र रुपाखेती र न्यायाधीश शान्तिसिंह थापाको इजलासले सो मुद्दामानेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा रावलसहित तीनैजनालाई सफाइ दिने फैसला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर रावलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेलाई विपक्षी बनाउँदै मुद्दा दायर भएको थियो । तीनै जनालाई जनही ९१ लाख ९ हजार ८८९ रुपैयाँ अनियमितता गरेको आरोप लगाएको थियो ।
तीनै जनाविरुद्ध नेपाल राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाई गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन गरेको र गुणस्तरहीन नोट छपाइ गरेको अख्तियारको आरोप थियो ।