एजेन्सी । नासाका वैज्ञानिकहरूले आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रंगमा देखिने बताएका छन्।
यो एउटा दुर्लभ खगोलीय घटना हो जहाँ मंगल, पृथ्वी र सूर्य सिधा लाइनमा हुनेछन्।
यसको मतलब मंगल, पृथ्वी र सूर्य १८० डिग्रीको कोणमा हुनेछन्।
खगोलशास्त्रको भाषामा यसलाई "ओपिजिजन"अर्थात आमनेसामने भनिन्छ। मंगल ग्रहको अपोजिशनको घटना प्रत्येक २६ महिनामा हुने गर्छ।
नासाका अनुसार मंगल ग्रह र पृथ्वी हरेक दुई वर्षमा अर्थात करिब २६ महिनामा एकपटक एकअर्काको नजिक आउने गर्छन्। अब अर्कोपटक यी दुई ग्रह सन् २०२२ को डिसेम्बरमा नजिक आउनेछन्।
अपोजिसनको खगोलिय घटना आज १३ अक्टुबरमा भएपनि गत मंगलबार ६ अक्टुबरमा मंगल पृथ्वीको सबैभन्दा नजिक आएको थियो।
नजिक आउँदा पनि यी दुईबीच ३८.६ मिलियन माइलको दूरी छ। अब सन् २०३५ मा मात्र मंगल र पृथ्वी अहिले आएजति नजिक आउनेछन्।
सन् २००३ मा मंगल ग्रह पृथ्वी ३४.८ मिलियन माइलको दूरीसम्म आएको थियो जुन ५९ हजार ६ सय १९ वर्षमा सबैभन्दा नजिक भएको अवस्था हो। अब सन् २२८७ सम्म मंगल पृथ्वीको यति नजिक हुनेछैन।