काठमाडौं. लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डलाई आफ्ना धारणा स्पष्ट पार्न आग्रह गरेका छन्। फेसबुकमा एक स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले प्रचण्डसँग त्यस्तो आग्रह गरेका हुन्।
पार्टीभित्र देखिएको विवादका विषयमा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री केपी ओलीले राखेको विषय अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नु ठिक नभएको भन्दै घुमाउरो भाषामा आलोचना गरेका छन्।
'विवादका बेला जिम्मेवार व्यक्तिले मैले के भनेँ? मेरो धारणा के हो? भन्नु राम्रो हो,’ पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अर्काले के भन्यो भन्दा सदैव आग्रह मिसिन्छ।’
शनिबार दुई अध्यक्षले प्रधानमन्त्री निवास बालुबाटार भेट गरेका थिए। भेटमा ओलीले पार्टीमा अब सँगै बस्न नसकिने भन्दै अलग पार्टी बनाउन लागेको धारणा राखेका थिए। त्यहीँ विषयलाई लिएर अध्यक्ष प्रचण्डले खुमलटारमा भेला गरी अर्का अध्यक्ष ओलीले बोलेको विषय सार्वजनिक गरेका थिए।
छलफलमा प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता, नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा समेत सहभागी थिए।