भक्तपुर । भक्तपुर नगरपालिकाले संचालन गरेको भक्तपुरको देको मिवा ईतापाके जग्गा एकिकरण पीडितहरुले आयोजनाको कार्यालय र भक्तपुर नगरपालिकामा धर्ना दिएका छन् ।
आयोजना भित्र परेका जग्गा धनीहरुको योगदानको कट्टाको नाममा भूमिहिन बनाउन खोजेको भन्दै पीडित आज कार्यालयहरु धर्ना दिएका हुन् ।
आयोजनाले योगदान कट्टीको नाममा ६० देखि ८० प्रतिशत सम्म जग्गा कटौती गरेपछि विरोधमा उत्रिनु परेको पिडितहरु बताउँछन् ।
जग्गा एकिकरण गर्दा सम्मान रुपमा मापदण्ड लागू गर्नपर्ने, आसेपासेमूखी जग्गा वितरण तत्काल खारेज गर्नुपर्ने, सल्लाघारी–नगरकोट सडक खण्डमा हाल कायम भएको मापदण्डलाई लागू गरिनु पर्ने, जग्गा वितरणमा आयोजनाले बैज्ञानिक एंव आधुनिक बनाउनुपर्ने लगाएका विभिन्न १७ बुँदे माग राखी उनीहरु एक महिनादेखि आन्दोलनमा छन् ।
आयोजनाले भने ५ सदस्य कार्यदल गठन समस्या समाधानका लागि ४ वटा छुट्टाछुट्टै टोली गठन गरेका जनाएको छ ।
कार्यदलले आयोजनामा परेका ६ सय भन्दा बढी उजुरीहरुको अध्ययन गरि सम्वन्धित जग्गाधनीहरु सँग छलफल अगाडी बढाएको जनाएको छ । आयोजनाले ५ बर्ष अगाडी भक्तपुरको सल्लाघारी देखि देकोचासम्म १६ सय ५४ रोपनी जग्गा एकिकरण गरेको हो । विवाद समाधान भएमा ६ महिना भित्रै जग्गाधनीहरुलाई पुर्जा वितरण गरिने आयोजना प्रमुख ओमहरी था श्रेष्ठले जानकारी दिए ।