काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव पक्षले बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हुने जुलुस नेतृत्वकर्ताको टुंगो लगाएको छ। उपत्यकाका विभिन्न स्थानबाट निस्कने जुलुसको नेतृत्वकर्ता र रुट तय भएको नेकपा केन्द्रीय संघर्ष समितिले जानकारी दिएको छ।
उपत्यकाका पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट जुलुस निस्कने र प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुने बताइएको छ।
मूल जुलुस सुन्धारा, वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोडबाट प्रदर्शनी मार्गमा प्रवेश हुने तय गरिएको संघर्ष समितिले जानकारी दिएको छ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षले भने निरन्तर रूपमा विरोध गर्दै आएको छ।
प्रतिनिधि सभा विघटनका विरुद्धमा दायर भएका १३ थान मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाइ गरिरहेको छ।