काठमाडौं । पछिल्लो सयम एकपछि अर्को रेकर्ड बनाउँदै अगाडि बढेको नेप्से बढ्ने क्रमले साताको अन्तिम कारोबार दिन बिहीबार पनि निरन्तरता पाएको छ । बैंकिङ र विकास बैंक लगानीकर्ताको रोजाइमा पर्दा बिहीबार बजार परिसूचक नेप्से करिब १ प्रतिशतले बढेको छ ।
बिहीबार सेयर बजार परिसूचक नेप्से २५।२३ अंकले बढेर २६३६.६८ अंकमा बन्द भएको छ । सुरुवातबाट नै हरियाली छाएको बजारमा बिहीबार नेप्से २६३४.३७ अंकमा खुलेको थियो भने ‘इन्ट्रा–डे’ कारोबारमा २६४३।११ अंकको उच्च विन्दु र २६१८.२५ अंकको तल्लो विन्दुसम्म झरेको थियो ।
यो साता नेप्सेले क्लोजिङ विन्दु र इन्ट्रा–डे काराबार दुवैमा रेकर्ड बनाएको छ । इन्ट्रा डे कारोबारमा फागुन ४ गते मंगलबारको २६३१।७६ अंकको रेकर्ड तोडेको नेप्से बुधबार २६११.४५ अंकको उचाइलाई तोड्दै आज ऐतिहासिक २६३६.६८ अंकमा बन्द भएको छ । यो साता सुरुवातबाट नै वाणिज्य बैंक र विकास बैंक लगानीकर्ताको रोजाइमा रहेका छन् । आज पनि विकास बैंकको उपसूचक २.३३ प्रतिशत, बैंकिङ उपसूचक १.२२ प्रतिशतले बढ्दा अन्य समूहको उपसूचक पनि २।६ प्रतिशतले बढेको छ ।
यता, बिमा र लघुवित्तका लगानीकर्ता भने निराश बनेका छन् । नेप्सेमा आज निर्जीवन बिमा, जीवन बिमा र लघुवित्तबाहेक सबै उपसूचकमा हरियाली छाएको छ । लघुवित्तको उपसूचक ०.६२, जीवन बिमाको उपसूचक ०.५९ र निर्जीवन बिमाको उपसूचक ०.३८ प्रतिशतले घटेको छ ।
सोमबार र मंगलबार लगातार १० अर्बमाथिको कारोबार भएको नेप्सेमा हिजो ८ अर्ब ३ करोडमा सीमित रह्यो भने आज पौने ९ अर्ब नाघेको छ । आज बजारमा ९० हजार २०२ कारोबारमा २०६ कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७६ करोड २१ लाख ४७ हजारको कारोबार भएको छ ।
आज कारोबार रकममा एनआईसी एशिया बैंकले लिड गर्दा नेपाल इन्फ्रास्टक्चर बैंकले पछ्याएको छ । एआईसी एशिया बैंकको ५६ करोड १ लाख ८ हजार, नेपाल इन्फ्रास्टक्चर बैंककको ५० करोड ८२ लाख ७० हजार र सिभिल बैंकको २८ करोड ३८ लाख ६ हजारको कारोबार भएको छ ।
आज नेप्सेमा नेपाल हाइड्रो, कर्णाली विकास बैंक, वेस्ट फाइनान्स, सिभिल बैंक, नेपाल इन्फ्रास्टक्चर बैंक, समृद्धि फाइनान्स र ग्रीन डेभलमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्य घट्नेमा लघुवित्त र हाइड्रोपावर अगाडि हुँदा सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले करिब ५ प्रतिशतले गुमाएका छन् ।