विराटनगर । ताप्लेजुङको मेरिङदेन ३ स्थित दोभान बजारमा सुरु भएको भिषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका अनुसार बिहान ९:२५ बजे सुरु भएको आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।
स्थानीय भोला पौडेलको घरबाट अचानक विद्युत् चुहावट भई आगलागी सुरु भएको हो । यसको नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपीको नेतृत्वमा नेपाल प्रहरीको टोली घटनास्थलतर्फ लागेको छ ।
सशस्त्र प्रहरी र नेपाल आर्मीको टोलीसमेतले घटनास्थल पुगेर आगो नियन्त्रणको प्रयास गरिरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विपीन रेग्मीले बताए । उनले भने, “के कति घरमा आगो लागेको छ भन्ने जानकारी आउन बाँकी छ तर आगो निभाउन ताप्लेजुङबाट दमकल घटनास्थलतर्फ गाएको छ ।” सुक्खा मौसम भएकाले आगो अन्यत्र फैलन रोक्न सुरक्षाकर्मी र स्थानीय लागि परेको डीएसपी रेग्मीले जानकारी दिए ।