अध्यक्ष बिजुक्छेँबाट खोह्र दीप ध्वाखा र छिपा ताँ उद्घाटन

  • १८०
  • बिहीवार, १६ मंसिर २०७८


भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नपा वडा नं. ७ हनुमानघाटस्थित छिपा ताँको पूर्वतिर निर्माण गरिएको मौलिक शैलीको खोह्र दीप ध्वाखा र छिपा ताँ बिहीबार संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जनताको सहयोगमा निर्मित खोह्र दीप ध्वाखा मौलिक, कलात्मक र निकै आकर्षक भएकोे बताउनुहुँदै सम्पदा संरक्षणमा भक्तपुरका जनताहरुको अपनत्व र समर्पणभावको उच्च प्रशंसा गर्नुभयो । छिपा ताँ सँगै रहेको उपचार पोखरीलाई पुनर्जीवन दिनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले आफ्ना विकास निर्माणका सम्पूर्ण गतिविधि सफलतापूर्वक गुणस्तरीय ढंगले उपभोक्ता समितिमार्फत गरिरहेकोमा उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने र जनताको भावना विपरीत भएको बताउनुभयो ।

शासक दलहरुको पूर्वाग्रही सोचकै कारण भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने स्वीकृति नपाएको भन्दै अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले गरेको स्वायत्तताको अभ्यासबाट अरु स्थानीय तहहरुले पनि अनुसरण गर्न खोजिरहेको छ भन्नुभयो । उहाँले सुधारिएको शवदाह गृह र विद्युतीय शव दाहगृह निर्माणतर्फ पनि नगरपालिकाले पहल गर्नुपर्ने आवश्यकताबोध गराउनुहुँदै हनुमन्त्ते खोलको सुधार र सरसफाईमा पनि विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणको भौतिक संरचना बलियो हुने, स्थानीय जनताको अपनत्व रहने, स्थानीय जनताले स्वयम्सेवी रुपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय निर्माण कार्य हुने बताउनुभयो ।
स्थानीय सीप, प्रविधि र परम्परागत निर्माण सामाग्री प्रयोग गरी निर्माण गरिएका पाँचतले मन्दिर, भैरवनाथ मन्दिरलगायतका सम्पदाहरु ठूल्ठूला भूकम्पहरुबाट पनि जोगिएको भन्दै उहाँले अहिले हामीले गर्ने निर्माणहरु पनि वर्षाै वर्ष टिक्ने गरी गुणस्तरीय निर्माणमा नगरपालिकाले जोड दिँदै आइरहेको बताउनुभयो ।
उहाँले भूकम्पबाट क्षतिग्रस्त १२० वटा सम्पदामध्ये भक्तपुर नगरपालिकाले ११५ भन्दा बढी पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न गरिसकेको अवगत गराउनुहुँदै भक्तपुर नगरपालिकाले गरिरहेका हरेक गतिविधि देशभरका जनताले नियालिरहेकोमा अझ जिम्मेवार भएर काम गर्न हौसला मिलेको बताउनुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले घोषणापत्रअनुुसार आफ्ना गतिविधिलाई अगाडि बढाउँदै आएको अवगत गराउनुहुँदै नगरका सबै वडाहरुमा घरदैलो सेवा पनि सञ्चालनमा ल्याएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले हनुमानघाट पौराणिक, ऐतिहासिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण ठाउँ भएको बताउनुहुँदै यस ठाउँको सुन्दरता र जीवन्तता कायम गर्न नियमित सरसफाई गर्दै आइरहेको बताउनुभयो । खोह्र दीप ध्वाखा निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रत्नलाल साँधले ध्वाखाको दायाँ बायाँ सहायक द्घार र बीचमा मुख्य रहेको खोद्रा दीप ध्वाखा निर्माणको लागि रु. ४९ लाख ९५ हजार ९ सय ७४ रुपैयाँ भन्दा बढी आर्थिक सहयोग संकलन भएकोमा कुल खर्च रु.४८ लाख ६९ हजार ८ सय ६५ रुपैयाँ रहेको र कार्य मूल्यांकन रु. ५७ लाख ९ हजार ४४० रहेको जानकारी गराउनुभयो । साथै छिपा ताँ निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष लक्ष्मी रञ्जितले आयव्यय प्रस्तुत गर्दै पुलको लगत इस्टिमेट १ करोड ९८ लाख ४१ हजार २६६।८१ रहेकोमा कूल खर्च १ करोड ७७ लाख ८ हजार ७३० रहेको र कार्य मूल्यांकन २ करोड, ९ लाख ९८ हजार ५१५।६० रहेको बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् खोह्र दीप ध्वाखा निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णगोविन्द खाइजु र सचिव कृष्णगोविन्द लाखाले ध्वाखा निर्माणमा १८० वटा भन्दा बढी गुठियारहरुबाट आर्थिक सहयोग प्राप्त भएको र ध्वाखा निर्माणका क्रममा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा छिपा ताँ निर्माण उपभोक्ता समितिका अध्यक्ष रामेश्वर प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथि नारायणमान बिजुक्छेँ, विशेष अतिथि सुनिल प्रजापति र अतिथिहरुले ध्वाखा निर्माणमा सहयोग गर्नेहरुलाई प्रशंसा पत्र वितरण गर्नुभएको थियो ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.