‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानको दोश्रो चरणको वृक्षारोपण कार्यक्रम शुरु

  • १८५
  • शनिबार, २२ आषाढ २०८१


भक्तपुरको चाँगुनारायण नगरपालिकालाई बहुगुणी फल एभोकाडोको शहर बनाउने अभियान ‘चाँगुनारायण सिटी एभोकाडो सिटी’ अभियानको दोश्रो चरणको वृक्षारोपण कार्यक्रम शुरु भएको छ । चाँगुनारायणमा गत वर्ष निकै लोकप्रिय रहेको यो अभियान यस वर्ष पनि शुक्रबारबाट शुरु भएको हो ।

चाँगुनारायण-७ मझुवामा शुक्रवार बिहान एभोकाडोको बिरुवा वितरण र रोपण गरेसंगै दोश्रो चरणको अभियान शुभारम्भ भएको अभियानका संयोजक नरेश खड्काले जानकारी गराएका छन् । यस अभियानका परिकल्पनाकार एवं चाँगुनारायण क्षेत्रका बौद्धिक नेता डिपी ढकालले चाँगुनारायण-७ का वडाध्यक्ष श्यामकाजी नायजू र जेष्ठ नागरिक भिमसेन थापालाई एभोकाड़ोको विरुवा हस्तान्तरण गर्दै अभियानको दोश्रो वर्षको कार्यक्रम शुभारम्भ भएको घोषणा गरेका हुन् ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका ढकालले पर्यावरण, स्वास्थ्य, उत्पादन र आयआर्जनको दृष्टिले बहुगुणी फल एभोकाडोले चाँगुनारायणको मुहार बदल्ने बताउँदै अभियानले सामुहिक एकता पनि प्रदर्शन गर्न सफल भएको बताए । अभियानमा सयौं अभियन्ता स्वतस्स्फूर्त जोडिएका र हजारौ परिवार सामेल भएका उल्लेख गर्दै उनले गत वर्ष झैं यो वर्ष पनि अभियान उत्सवकै रुपमा सम्पन्न हुने बिश्वास व्यक्त गरेका छन् ।

सो अवसरमा वडाध्यक्ष श्यामकाजी नायजूले अभियानप्रति ऐक्यवद्धता प्रकट गर्दै एभोकाड़ोको बिरुवालाई रोप्ने मात्र नभई हेरविचार गर्न र फलाउनपर्नेमा जोड दिए । अभियन्ताहरुले दुस्खगरी श्रोत व्यवस्थापन गरेको भन्दै उनले सित्तैमा पाएको भनेर बिरुवाको बेवास्ता नगर्न आग्रह गरेका थिए ।

वडा नम्बर ७ मा शुक्रवार ५ सय ओटा एभोकाड़ोका बिरुवा वितरण र रोपण गरिएको अभियन्ता दिनेश खनालले जानकारी दिएका छन् । चाँगुनारायण एकता तथा बिकास समाजको सहकार्यमा विरुवा वितरण र रोपण कार्यक्रम सम्पन्न भएको अभियन्ता लक्ष्मण दुलालले जानकारी दिए ।

स्थानीय एवं भंगेरी डाँडा तामाङ्ग बस्ती सामुदायिक होम स्टेकी अध्यक्ष विष्णुमाया लामाले अभियानले सामुहिक भावनाको बिकास गर्न मद्दत गरेको प्रतिक्रिया दिएकी छन् भने अर्का स्थानीय राजन लामिछानेले एभोकाड़ो रोप्न, फलाउन र चाँगुनारायणलाई एभोकाडोको शहर बनाउन आफूहरु उत्साहित रहेको बताएका छन् ।

सो अवसरमा स्थानीय अभियन्ता हरिशरण लामिछाने, गणेश थापा लगायतले कार्यक्रमको व्यवस्थापन गरेका थिए भने विश्वप्रकाश पोखरेल, लालकिरण गौतम, मदन श्रेष्ठ, मदन ढुंगाना, सुनिल नेम्हाफुकी, सोनिया ठकुरी, अमृता संजेल, धर्म थिङ्ग, राजेश नेपाल, हरिशरण तिमल्सिना, प्रयास लामा, कान्छा लामा लगायतको सहभागितामा २ सय बढी घर परिवारमा एभोकाडोको बिरुवा वितरण गरिएको थियो । स्थानीय प्रहरी प्रभाग र क्लबमा पनि बिरुवा पुर्याइएको थियो ।

३ वर्षभित्र चाँगुनारायणका १७ हजार घरमा कम्तिमा २ बोट एभोकाड़ो रोप्ने र फलाउने उदेश्य राखिएको चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान गत वर्ष देखि शुरु भएको हो । ३१ असार २०८० बाट शुरु भएको अभियानले गत वर्ष चाँगुनारायणको सबै वडामा गरी ७ हजार बढी बिरुवा रोप्ने कार्य सम्पन्न गरिएको अभियानका प्रवक्ता संजीप घिमिरे शुभचिन्तकले प्रष्ट पारेका छन् । यो वर्ष पनि गत वर्षकै हाराहारीमा विरुवा वितरण र रोपण गरिने योजना रहेको उनको भनाइ छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com