चाँगुनारायणका जनप्रतिनिधिले गरे विकास निर्माण वारे संचारकर्मीसंग अन्तरक्रिया

  • १८०
  • आइतबार, २२ आषाढ २०८२


भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले सञ्चारकर्मीहरूसँग नगरपालिकामा भएका विकास र नगरपालिकाले हासिल गरेका उपलब्धिबारे अन्तरक्रिया गरेको छ ।
चाँगुनारायण नगरपालिकामा बहाल भएका जनप्रतिनिधिहरूले तीन वर्ष पूरा गरेको अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरको आयोजनामा नगरकोटमा भएको कार्यक्रममा जनप्रतिनिधि र सञ्चारकर्मीहरूबीच अन्तरक्रिया भएको हो ।
शनिबार र आइतबार सम्पन्न अन्तरक्रियामा विभिन्न सञ्चार माध्यममा क्रियाशील सञ्चारकर्मीहरूले चाँगुनारायण नगरपालिकामा जनप्रतिनिधि बहाल भएपछि देखिएको परिवर्तनका साथै त्यसले पारिरहेको प्रभावबारे चर्चा गर्दै नगरपालिकाले आगामी दिनमा गर्नुपर्ने कामहरू बारे सन्दर्भमा सुझाव दिएका थिए ।
काठमाडौं उपत्यकाका पालिकाहरूमध्ये क्षेत्रफलका हिसाबले ठूलो नगरपालिकाको रूपमा रहेको चाँगुनारायण नगरपालिकाले विगत ३ वर्ष  सम्ममा विभिन्न जनमुखी कार्य गरेको जनप्रतिनिधि तथा कर्मचारीहरूले उल्लेख गर्दै नगरपालिका नमूना रूपमा अघि बढिरहेको जनाएका थिए ।
कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले जनताको अभिमत प्राप्त भएसँगै पालिकाका जनप्रतिनिधिहरू जनताको सुखदुःखका साथीका रूपमा क्रियाशील रहेको जनाउँदै नगरपालिकाले विकास निर्माणमा मारेको फड्को, शिक्षा, स्वास्थ्य, सरसफाइ, विपद् व्यवस्थापन, स्वस्थ बुढ्यौली, खेलकुद, निः शुल्क रगत व्यवस्थापन, दिवा खाजा, नगरकोट सडकको स्तरोन्नति, नगरकोट भ्रमण वर्ष २०८२ लगायतमा चाँगुनारायण मोडलको विकास गरेको चर्चा गर्नुभयो । 
उहाँले नगरपालिकाले गरिरहेका कामहरूलाई जनताको आवश्यकता र मागसँग जोडेको उल्लेख गर्दै त्यस्ता कामले आम नगरवासीको दैनिकी सहज र सरल बन्दै गएको दावी गर्नुभयो। उहाँले नगरपालिकाको क्षमता र शक्तिले भ्याएसम्म जनमुखी काम गरिरहँदा पनि कतिपय नगरवासीहरूमा असन्तोष र नकारात्मक भावना बाँकी रहेको जनाउँदै सामाजिक सञ्जालमा नगरपालिका र जनप्रतिनिधिको नकारात्मक टिप्पणी भएको बताउनुभयो । नगर प्रमुख खत्रीले समाजमा स्थापित नकारात्मक भाष्यलाई सकारात्मक बनाउन सञ्चारकर्मीहरूले भूमिका निर्वाह गर्न अनुरोध गर्दै सञ्चारकर्मीहरूको खबरदारीका लागि पनि अनुरोध गरे ।
पूर्ण रूपमा नगरपालिका, जनप्रतिनिधि र सरकारमा निर्भर हुँदै गइरहेका नगरवासीहरूमा नगरवासीको भूमिकाबारे सचेत गराउनका लागि समेत सञ्चारकर्मीहरूलाई आग्रह गर्दै उहाँले स्थानीय सञ्चार माध्यमको प्रवर्द्धनका र संचार मैत्री नगरपालिका बनाउन लागिरहेको उल्लेख बताउनुभयो ।
शिक्षामा गुणस्तर भित्र्याउन नीतिगत रूपमा लागिरहेको , फोहोरमैला व्यवस्थापन गरिरहेको, ढल व्यवस्थापन कार्य अघि बढेको, स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाएको, पर्ती संरक्षण, पर्यटन प्रवर्द्धनका गतिविधि अघि बढाइरहेको समेत नगरप्रमुखको भनाई छ ।
नगरपालिकाले गरिरहेका कामलाई नजिकैबाट नियालेर आलोचनात्मक चेतका साथ सञ्चारकर्मीहरूले सञ्चार कर्म गर्दै समाज रूपान्तरणका लागि भूमिका निर्वाह गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख रमेश बुढाथोकीले सञ्चारकर्मीहरूले पेशागत र व्यावसायिक पत्रकारिता गर्न अनुरोध गर्दै नगरपालिकामा भइरहेका विविध विषयको प्रचारप्रसारमा कमी भइरहँदा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियाले नगरपालिकाका नमूना कामलाई जनतासम्म पुर्याउन सहायक हुने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जनताको घरआँगनको सरकारको रूपमा स्थानीय पालिका रहेकाले जनप्रतिनिधिहरूबाट जनताले विभिन्न विषयमा अपेक्षा राख्नुलाई स्वभाविक भएको जनाउँदै जनताका अपेक्षालाई सम्वोधन गर्ने विषयलाई नगरपालिकाले प्राथमिकता राखेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका अधिकृत सुरज पौडेलले नगरपालिकाले विकास निर्माणका सम्बन्धमा मारेको फड्कोका सम्बन्धमा चित्रात्मक रूपमा प्रस्तुतिकरण गरेका थिए । अन्तरक्रियामा आयोजक नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले सञ्चारकर्मीहरूले दबाब, प्रभावमा नभई तथ्यका आधारमा समाचार सम्प्रेषण गर्ने बताउनुभयो । सञ्चारकर्मीहरूले वाचडगकै रूपमा रही पत्रकारिता गर्दा त्यसले नगरपालिकालाई सहज हुने बताउनुभयो।
चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता जनक खत्री, वडा अध्यक्ष धनबहादुर लामा, वडा सदस्य श्यामकाजी नायजु, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीका साथै भक्तपुरमा क्रियाशील सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न अन्तरक्रियामा नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव एवम् कार्यक्रम संयोजक हरिसुन्दर छुकांले पत्रकारिता सत्यमा आधारित भएकाले सत्यतथ्य विषय बाहिरिँदा सुशासनको आधार बन्ने जनाए । उनले स्थानीय तहलाई सही मार्गमा लग्नका लागि प्रतिपक्षीको भूमिकामा रहेका सञ्चारकर्मीहरूलाई पालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष हेमराज ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा सञ्चारकर्मीहरू कृष्ण प्रजापति, कृष्ण किसी, अन्जिर बिक, लोकेन्द्र चिदाकास, मणिराम लामिछाने, रावन कार्की, पेशल आचार्य लगायतले विभिन्न विषयमा धारणासहित सुझाव दिएका थिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com