भक्तपुर । नेपाल प्रेस सोसाइटीको प्रथम वार्षिकोत्सव आज एक विशेष समारोहबीच सम्पन्न भएको छ। कार्यक्रमको अवसरमा भक्तपुर जिल्लाभरबाट ४ जीपीए ल्याउने ३० जना विद्यार्थीलाई सम्मानपत्र र प्रमाणपत्र वितरण गरिएको छ। समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाल प्रेस सोसाइटीले एक वर्षको छोटो अवधिमा पत्रकारिता क्षेत्रमै उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरेका छन् । उनले भने, “यो केवल एक वर्षको यात्रा भए पनि सोसाइटीले पत्रकारिता र सामाजिक उत्तरदायित्व दुबै क्षेत्रमा सकारात्मक पहिचान बनाएको छ।” थापाले सम्मानित विद्यार्थीहरूको यो मोड जीवनको टर्निङ्ग प्वाइन्ट हुने उल्लेख गर्दै उच्च शिक्षाको यात्रामा सफलता प्राप्त होस् भन्ने शुभकामना समेत व्यक्त गरे। कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा, नेकपा माओवादी केन्द्रका अध्यक्ष सुनिल गोठे, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति रामेश्वर बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटा, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, प्याब्सन भक्तपुरका अध्यक्ष राजन कस्पाललगायतले सोसाइटीको कार्यको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए।प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिपेन्द्र राज खत्रीले सञ्चालन, महासचिव केशव लुइँटेलले स्वागत मन्तव्य, कोषाध्यक्ष अरुण महतले धन्यवाद ज्ञापन तथा सचिव रुपक खड्काले सहजीकरण गरेका थिए।