पृष्ठभूमिका अभिभावक

  • २९१
  • बिहीवार, ८ कार्तिक २०७५

करिब छब्बीस वर्षअघि काम खोजी गर्ने सिलसिलामा मेरा पिताजीमार्फत एक खबर पाँए, निजी क्षेत्रको लगानीमा नयाँ अंग्रेजी दैनिक आउँदै छ रे । अनेक प्रकारका हिन्दी कमिक्स, पत्रिका र उपन्यासबाट अमेरिकी पत्रिका न्यूजविकको पाठकमा स्तरोन्नति भएकाले होला, अंग्रेजी पत्रिकामा काम गर्ने कुराले ध्यान तान्यो । सम्पादक योगेश उपाध्यायसँगको भेट र जागिर कर्मको सुरुआत सँगसँगै भयो । त्यसबेला प्रकाशक थिए श्याम गोयन्का।

गोयन्काले श्रेया प्रकाशनबाट सुरु गरेको निजी क्षेत्रको पहिलो ब्रोडसिट पत्रिका बने कान्तिपुर तथा द काठमाडौं पोस्ट, क्रमशः नेपाली तथा अंग्रेजीमा । पत्रिका सञ्चालनमा आएको निकै कम समयमै ज्ञवाली–सिरोहियाको नमस्ते समूहले त्यस पत्रिकामा लगानी ग-यो । नमस्ते समूहको लगानीसँगै समूहका अध्यक्ष बनेर आए हेमराज ज्ञवाली । ज्ञवालीलाई ब्रोडसिट दैनिकका अग्रज प्रकाशक भनेकोमा केहीले प्रतिवाद गरे पनि निजी क्षेत्रको दैनिक पत्रिकालाई जोगाएर अघि बढाउनमा उनको भूमिका महत्वपूर्ण रह्यो । प्रकाशन पश्चात एक वर्षभन्दा कम समय रहेका श्याम गोयन्काको भूमिकालाई कदापि बिर्सन मिल्दैन, तथापि कान्तिपुर पब्लिकेशन्स र सोमार्फत निजी क्षेत्रको पत्रकारितालाई अहिलेको अवस्थामा पु-याउन ज्ञवालीले खेलेको भूमिकालाई कुनै पनि अर्थमा न्यून आँकलन गर्न मिल्दैन।

हेमराज ज्ञवालीले कान्तिपुर पब्लिकेशन्सको अध्यक्षको जिम्मेवारी नलिएको भए त्यसबेलाको परिस्थितिमा सायदै कान्तिपुरले त्यस गतिमा प्रगति गथ्र्यो । ज्ञवाली अध्यक्ष तथा प्रकाशक हुनुअघि बजारमा समाचार खोज्न जाँदा यो पत्रिका भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न ल्याएको भनेर हाकाहाकी आरोप लगाउँथे । कतिपय व्यक्तिले हामीलाई तलब भारुमा दिन्छ रे हो भनेर पनि सोधे । कतिपय चिनेका व्यक्तिले यो लेखकलाई समेत भारु साट्न पर्ने थियो तिम्रो तलब आयो होला अलिकति साटौं न पनि भन्थे । त्यसैले नेपालीद्वारा नेपालको हितका लागि यत्रो लगानीमा पत्रिका आयो भन्ने सन्देश दिनका लागि ज्ञवालीको उपस्थिति निकै महत्वपूर्ण भयो ।

भारतीय लगानीको गलत हल्ला चिर्नका लागि मात्र ज्ञवालीको छविले काम ग-यो भन्ने होइन । लामो समयको सरकारी जागिरका कारणले पनि समाजमा हेमराज ज्ञवालीको एक सम्मानित स्थान थियो । त्यसबेला सरकारी विज्ञापनमा केवल गोरखापत्रको एकाधिकार रहेको थियो । ज्ञवालीकोे व्यक्तिगत सम्बन्ध र उनले विगतमा कर्मचारीतन्त्रमा पारेको सकारात्मक प्रभावका कारण विस्तारै सरकारी विज्ञापन निजी क्षेत्रको ठूलो पत्रिकामा पनि देखिन थाल्यो । उनको उपस्थिति र व्यक्तित्वले पाठकको विश्वास जित्न पनि प्रभावशाली भूमिका खेल्यो भन्न कुनै अप्ठेरो मान्नु पर्दैन । कतिपटक ग्राहक बनाउने अभियानमा पत्रकारकै रूपमा निरीक्षण गर्न जाँदा नयाँ ग्राहकले आफूले केवल हेमराज ज्ञवालीको नामको कारण वार्षिक ग्राहक बनेको यस लेखकलाई बताएका थिए।

त्यसबेलाको व्यवस्थापन, पत्रकार र प्राविधिक सबैको भूमिका सकारात्मक रह्यो, र ती सबैलाई नेतृत्वको छायाँ दिने काम ज्ञवालीको शालीन व्यक्तित्वले ग¥यो । थापाथलीको सानो घरबाट सुरु भएको कान्तिपुरले पखेटा फैलाउन थालेपछि शान्तिनगरको घरमा पुग्यो । त्यहाँबाट पनि अझ ठूलो भएर सुविधानगरको सुविधासम्पन्न भवनमा पुग्यो । तर त्यस पब्लिकेशन्सलाई त्यहा पु-याउन महत्वपूर्ण भूमिका खेल्ने हेमराज सर भने कहिल्यै प्रसिद्धि पछ्याएर हिँडेनन् । अफिसले दिएको एउटा साधारण कारमा ज्ञवाली धेरै वर्ष करिब साढे दस बजे अफिस आउने र करिब साढे पाँच बजे घर जाने क्रमलाई निरन्तरता दिइरहे । तथापि, त्यसबेला उनको पब्लिकेशन्समा काम गर्ने धेरै पत्रकार र अन्य कर्मचारीलाई हेमराज सरको अफिस कस्तो थियो थाहा थिएन । उपल्ला पदका पत्रकार र कर्मचारीले पनि पाक्षिक मिटिङमा मात्र अध्यक्ष सरलाई भेट्थे।

पत्रिकाको सुरुआत देखि नै काम गरेको र मेरो परिवारसँग पनि परिचित हुनाले हेमराज सरको मप्रति पहिले देखि नै सकारात्मक सोच रहेको मैले महसुस गरेको थिएँ । तथापि, हेमराज सरसँग भेट हुन थालेको द काठमाडौं पोस्टको सम्पादकमा नियुक्त भएदेखि मात्र हो । सम्पादकले हप्ताको तीन वा चार पटक अध्यक्षसँग भेटेर सम–सामयिक राजनीति र पत्रिकाको दृष्टिकोणका बारेमा छलफल गर्ने चलन थियो । करिब पाँच वर्ष पोस्टको सम्पादक हुँदा अध्यक्षबाट पत्रकारिताको सिद्धान्त र आदर्शमा ठेस पुग्ने कुनै कुरा लेख्न वा अघि बढाउन निर्देशन त के आग्रहसमेत भएको सम्झना छैन।

म पोस्टको सम्पादक हुँदा कतिपय व्यापारिक संस्था, गैरसरकारी र सरकारी कार्यालयको विषयमा पत्रिकामा आएको कुरालाई लिएर निकैपल्ट अध्यक्षज्यूसँग विशेष बैठक नै हुन्थ्यो । तर, जहिले पनि पत्रकारले गलत नियत नराखी पाठकलाई सही सूचना दिनका लागि समाचार लेखेको भन्ने कुरामा सन्तुष्ट भएपछि अध्यक्षबाट समाचार परिवर्तनका लागि दबाब आएन।

२०६१ सालमा राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि भने प्रकाशकका रूपमा हेमराज सरको चिन्ता निकै बढेको थियो । सरकारबाट एकातिर प्रकाशन संस्था नै बन्द गराइदिने धम्की आइरहन्थ्यो भने अर्कोतिर लोकतान्त्रिक आन्दोलनमा कुनै पनि प्रकारको सम्झौता नगर्न पत्रकारबाट निरन्तरको दबाब रहेको थियो । बारम्बार सरकारको दबाब आएको कुरा सम्पादकलाई सुनाए पनि सम्झौता गर्नका लागि कहिल्यै पनि अनुरोधसम्म पनि आएन।

कान्तिपुरबाट छुट्टिएर नेपाल रिपब्लिक मिडियामा आएपछि भने अध्यक्ष ज्ञवाली उमेरका कारणले पनि होला पहिलेभन्दा निस्क्रिय भएको मैले अनुभव गरें । कम बोल्ने र कसैमाथि दबाब नदिने व्यक्तित्वका कारणले पनि होला, हेमराज सरको उपस्थितिमा सम्पादकलाई कहिल्यै कुनै प्रकारको तनाव हुँदैन थियो।

धेरै पछिसम्म हेमराज सरलाई पशुपतिमा सधै बिहान आएको देख्दा एक प्रकारले खुसी लाग्थ्यो । यो दैहिक संसार छोडेर जाने दिनको बिहानसम्म पनि पशुपति घुमेर फर्केको सुन्दा वहाँको सरल स्वभाव पछाडिको दृढता र लगावको अन्तस्करणबाटै सम्झना र सम्मान भइरहेको छ । सरल, सहज र दयावान स्वर्गीय अध्यक्ष हेमराज सरलाई सदा सम्झिने छु।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.