काठमाडाैं – ‘अहिले त मुस्ताङमा नेपाली पर्यटकको ओइरो नै लागेको छ, यस्तो होला भनेर त हामीले सोचेका पनि थिएनौं’ मुस्ताङमा कोल्ड डिजर्ट नामको होटल चलाउने दिनेश थकालीको भनाई हो यो ।
होटल खचाखच भएपछि उहाँलाई खुसीसँगै चिन्ता पनि सँगै थपिएको छ । थकाली भन्नुहुन्छ, ‘होटल खचाखच हुँदा खुसी त छौं, तर हामीले सोचेभन्दा निकै धेरै पर्यटक ओइरिएकाले कसरी राख्ने भन्ने चिन्ता पनि लागेको छ ।’
थकालीले भनेझैं यतिबेला मुस्ताङमा नेपाली पर्यटकको ओइरो नै लागेको छ । समूह बनाएर मोटरसाइकलमा जाने, कार र्याली गर्दै मुस्ताङ पुग्ने अनि मुक्तिनाथ दर्शन गर्नेहरुका कारण यतिबेला मुस्ताङ आन्तरिक पर्यटकले भरिभराउ भएको छ ।
मुस्ताङ जाने पर्यटकका कारण म्याग्दीको बेनी र पर्वतको कुश्माका होटल पनि भरिएका छन् । ‘मुस्ताङ जानेहरुमध्ये धेरैजसो पर्यटक एकरात बेनीमा पनि बस्ने गरेका छन्, त्यसैले हाम्रा होटलमा पर्यटक राम्रै आइरहेका छन’ म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यससायी संघका अध्यक्ष बाबुराम आचार्यले भन्नुभयो ।