बैंकहरुले ब्याज उठाउन नसक्दा वित्तीय क्षेत्रमा जोखिम

  • १२९
  • शुक्रबार, १५ मंसिर २०८०


काठमाडौं । आर्थिक गतिविधिमा शिथिलता बढ्दै जाँदा बैंकहरुको कर्जा रिकभरीमा चुनौती बढ्दै गएको छ । चालु आर्थिक वर्ष ९आव० को असोज मसान्तमा आउँदा कुल कर्जामध्ये ६ प्रतिशतभन्दा बढी कर्जाको भाखा नाघेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

बैंकहरुले २०८० असोज मसान्तसम्म १ खर्ब २० अर्बभन्दा बढी ब्याजबापतको रकम असुल गर्न सकेका छैनन् । २०८० असार मसान्तमा कुल कर्जामा निष्क्रिय कर्जा अनुपात ३।०२ प्रतिशत रहेकोमा असोज मसान्तमा आउँदा ३।६६ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

आर्थिक वर्ष ०७८/७९ को असार मसान्तमा १.३१ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा अनुपात एक वर्षमा नै बढेर ३ प्रतिशतभन्दा माथि पुगेको छ । २०७८ असार मसान्तमा १.४८ प्रतिशत पुगेको बैंक तथा वित्तीय संस्थाको कुल कर्जामा निष्क्रिय कर्जा अनुपात २०७९ असारमा केही घटेको तथ्यांकले देखाउँछ । तर, त्यसपछि भने क्रमशः बढिरहेको छ ।

भाखा नाघेको सबै कर्जा निष्क्रिय कर्जामा समावेश हुँदैन । नेपाल राष्ट्र बैंकले भाखा नाघेको कर्जालाई असल, सूक्ष्म निगरानी, र निष्क्रिय वर्गमा वर्गीकरण गर्ने गर्दछ । असल वर्गमा वर्गीकरण भएको कर्जामा १ दशमलव २५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । भाखा नाघेको १ देखि ३ महिना भएको कर्जालाई सूक्ष्म निगरानीको सूचीमा राख्नुपर्ने हुन्छ । भाखा नाघेको ३ महिनाभन्दा बढी भएपछि बैंकहरुले त्रैमासिक रुपमा प्रकाशित गर्ने वित्तीय विवरणमा नै त्यस्तो कर्जालाई निष्क्रिय कर्जाका रुपमा प्रकाशित गर्नुपर्ने हुन्छ ।

 


निष्क्रिय कर्जामध्ये पनि भाखा नाघेको ३ देखि ६ महिना भएको कर्जालाई कमसल, ६ देखि १ वर्ष भाखा नाघेको कर्जालाई शंकास्पद र भाखा नाघेको १ वर्ष नाघेको कर्जालाई खराब कर्जामा वर्गीकरण गर्नुपर्छ । सूक्ष्म निगरानीमा वर्गीकरण भएको कर्जालाई ५ प्रतिशत, कमसलमा वर्गीकरण भएकोलाई २५ प्रतिशत, शंकास्पदलाई ५० प्रतिशत र खराब कर्जालाई १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । सोही व्यवस्थाको आधारमा बैंकहरुले नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ ।

२०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४९ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । त्यससमध्ये वाणिज्य बैंकहरुको मात्रै करिब ४४ खर्ब २४ अर्ब छ । वाणिज्य बैंकको कुल कर्जामध्ये असोज मसान्तमा भाखा नाघेको कर्जा करिब ३ खर्ब पुगेको राष्ट्र बैंक बैंक सुपरीवेक्षण विभाग स्रोतले जनाएको छ ।

भाखा नाघेको कर्जा बढ्दै जाँदा बैंकहरुको बैंकले सम्भावित कर्जा नोक्सानीको लागि गरेको लोन लस प्रोभिजन असोज मसान्तमा ३.७८ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तमा २.५८ प्रतिशत रहेको यस्तो प्रोभिजन असोजमा उल्लेख्य बढेको देखिन्छ । २०७९ असारमा यस्तो प्रोभिजन कुल कर्जाको २।३६ प्रतिशत थियो भने २०७८ असार मसान्तमा २।४८ प्रतिशत थियो ।

बैंकहरुको भाखा नाघेको कर्जा बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाको उठ्न नसकेको समेत ब्याज पनि बढ्दै गएको छ । असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको उठ्न नसकेको ब्याज १ खर्ब २० अर्ब ३८ करोड ९४ लाख पुगेको छ । गत असार मसान्तमा ९९ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ रहेकोमा ३ महिनामै २० अर्ब ४० करोड ४३ लाख रुपैयाँले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रमाथिको दाबी ५० खर्ब २६ अर्ब ४४ करोड ९३ लाख रुपैयाँ पुगेको छ । त्यसमध्ये ४९ खर्ब ६ अर्ब ५ करोड ९८ लाख रुपैयाँ सावाँ र १ खर्ब २० अर्ब ३८ करोड उठ्न नसकेको ब्याज हो । गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्र माथिको दाबी ४८ खर्ब ९६ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ थियो । त्यसमध्ये ४७ खर्ब ९७ अर्ब ३ करोड ७ लाख सावाँ र ९९ अर्ब ७८ करोड ५१ लाख रुपैयाँ ब्याज थियो ।

असोजमा नउठेको ब्याजमध्ये वाणिज्य बैंकहरुको १ खर्ब ५२ करोड ६८ लाख रुपैयाँ छ । यस्तै विकास बैंकहरुको ८ अर्ब २९ करोड ९० लाख र फाइनान्स कम्पनीहरुको ११ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com